रहेनन् कुशल अभिनेता इरफान



बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । कोलोन संक्रमणको कारण उनलाई मुम्बईको कोकिलाबेन धीरूभाई अम्बानी हस्पिटलमा भर्ना गरिएको थियो । मंगलबार उनको निधन भएको भारतिय सञ्चारमाध्यमले जनाएको छ ।

सन् २०१८ मा न्यूरो इंडोक्राइन ट्यूमर देखिए पछि उनि उपचारको लागि लन्डन गएका थिए । उपचार पश्चात सन् २०१९, अप्रिलमा उनि भारत फर्किएका थिए । खानकी आमा सईदा बेगमको पनि हालै मात्र निधन भएको थियो । लकडाउनको कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् । उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।

इरफानले ‘पान सिंह तोमर’, ‘मकबूल’, ‘लाइफ इन अ मेट्रो’, ‘द लंच बक्स’, ‘पीकू’, ‘तलवार’, ‘हिंदी मीडियम’ जस्ता सफल फिल्महरुमा अभिनय गरेका छन् । उनले ‘पान सिंह तोमर’ बाट राष्ट्रिय पुरस्कार पाएका छन् भने भारत सरकारले दिने चौथो ठुलो सम्मान पद्मश्री पनि प्राप्त गरिसकेका छन् ।

गत वर्ष उनले प्रतिकुल स्वास्थ्यअवस्थाका बाबजुत चलचित्र ‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए । बलिउड हुँदै हलिउडमा समेत ख्याती कमाएका उनी भारतको जयपुर, राजस्थानमा सन् १९६७ जनवरी ७ मा जन्मिएका थिए ।

प्रतिक्रिया दिनुहोस्