जदौ मालिक !



आफुभन्दा गह्रौ भारी बोकेर
बिर्सेर भोक र तिर्खा
पैतालाको ठेला गन्दै
राजमार्गमा हिडिरहेका हामी भुइँमान्छे
जसलाई आफ्नै सरकारले पत्याएन
रामराम साहेब! 
हामी सन्चै छौँ ।
तपाईंलाई कस्तो छ?

अलपत्र परेका हामीलाई 
कसले पुर्याइदिन्छ र घर?
किन गर्छ र दाल भातको ग्यारेन्टी ?
तपाईंले स्वादिष्ट परिकारको फोटाे राखिरहेका बेला
हामी नुनिलो आँसु घुटुक्क निल्दैछौ

कुनै जादुगरले जादु देखाएजस्तै
सर्लक्कै हाम्रो दु:ख हटाइदिन्छौ भनेर
तपाईंले फकाइफुलाइ कुनैदिन हामीलाई 
आफ्नो बनाउनुभएको थियो
तपाईंले, 
हाम्रो भोट जित्नुभो
सत्ताको भोक जित्नुभो
भन्नुहोस्, आज तपाईंको भान्सामा के पाक्दैछ?

हिंड्दा- हिड्दै बर्सन्छ मेघ
दु:ख दिन्छ हुरिबतास
डर छ, 
कतै बर्सिन सक्छ पुलिसको लाठी 
सोचिरहेछौ,
घर मात्र पुग्न पाए
नङ्राले कोतरेर आगनको माटाे
भर्ने थियौ, कहिले नभरिने पेट

पार गरिरहँदा हजारौं कोश दुरि 
राम्रै महशुस भएको छ,
नागरिक केवल
नागरिकता र भोट 
पासपोर्ट र रेमिटान्स हो
याद छ मालिक?
तपाईंको बिजय जुलुसमा हामी कसरी उफ्रिएका थियौँ ?

दिन फेरिनेछ,
साल फेरिनेछ
र तपाईं,
फेरि हाम्रो दैलामा नमस्कार गर्दै आउनुहुनेछ !
जदौ मालिक !

दीपज्योति थापा

प्रतिक्रिया दिनुहोस्