गायिका आस्था राउतलाई पक्राउ गर्न अनुमति



अभद्र व्यवहार सम्बन्धी कसुरमा गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको खबर अनलाइनखबर डटकमले उल्लेख गरेको छ ।

योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् । बधुबार काठमाडौं भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेकी थिइन् । तर आस्था यतिबेला साङ्गिीतिक प्रस्तुतिका लागी सिक्कीममा छिन् ।

भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो । त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको थियो ।

त्यसक्रममा संकलन गरिएको फुटेजबाट आस्थामाथि दुर्व्यवहार नभइ, उनले चाहिँ महिला प्रहरी रमिला श्रेष्ठलाई अभद्र व्यवहार गरेको देखिएको प्रहरी दाबी छ । त्यसपछि श्रेष्ठले पनि अभद्र व्यवहार सम्बन्धी कसुरमा कारबाहीको माग गर्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमार्फत किटानी जोहरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्