परदेशीको पीडा मिसिएको ‘मिस्टर नेपाली’को गीत सार्वजनिक (भिडियो)



चलचित्र ‘मिस्टर नेपाली’को नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार चलचित्रमा समावेश ‘हे मेरा परदेशी दाजुभाई’ बोलको गीत इन्टरनेट रिलिज गरिएको हो ।

कात्तिक २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्रलाई देव भुषालले निर्देशन गरेका हुन् । निर्देशक भुषालकै शब्द रहेको सार्वजनिक गीतमा सुभाष भुषालको संगीत र हेमन्त कान्छा रसाईलीको स्वर समावेश छ । यो मार्मीक गीतले परदेशीने र परदेशीएका नेपालीहरुको पीडा बोलेको छ । चलचित्रका चल–अचल दृश्यहरु समावेश गरिएको गीतको भिडियोमा अधिकांश मुख्य कलाकार चित्रित छन् । यो गीतको भिडियोलाई देवचुली फिल्मस्को युटुब च्यानलबाट रिलिज गरिएको हो ।

भिडियोको शुरुमै लेखिएको छ, “परदेशीनु रहर मात्र नर्भर बाध्यता पनि हो ।” परदेशमा रहेका नेपाली र नेपाली भाषीमा समर्पित गीतमा नजिकिँदै गरेको बिजयादशमीको शुभकामना पनि दिइएको छ ।

चलचित्र ‘मिस्टर नेपाली’मा भूवन केसी, रीमा विश्वकर्मा, नव–कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउत, रवि डंगोल, बिष्णु सापकोटा, कमलमणी नेपाल लगायत कलाकारहरुले अभिनय गरेका छन् । राष्ट्रियता र प्रेमको कथा भन्ने यस चलचित्रलाई देवचुली फिल्मस्को ब्यानरमा प्रेमराज दाहालले निर्माण गरेका हुन् ।

निर्देशक स्वयम्को लेखन तथा पटकथा रहेको चलचित्रमा निरज कँडेलको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्