नेपाली चलचित्र क्षेत्रमा महिलाको स्पेस के छ ?



–दीपज्योति

मानव अधिकार चलचित्र केन्द्रद्धारा आयोजित तीन दिने चलचित्र कन्फ्रेन्स शनिबार समापन भएको छ । कार्यक्रममा चलचित्रक्षेत्रसंग सम्बन्धित विभिन्न शिर्षकमा गहन छलफल भएको थियो ।

कन्फ्रेन्सको तेस्रो दिन ‘नेपाली चलचित्रमा महिलाको स्पेस’ सम्बन्धमा बहस गर्न निर्देशकद्धय सम्झना उप्रेती रौनियार, दिपा बस्नेत र अभिनेत्री सुरक्षा पन्त उपस्थित थिए । सहजकर्ताको भुमिका भने सञ्चारकर्मी स्मृति ढुङ्गानाले निभाएकी थिईन् ।


नेपाली चलचित्र क्षेत्रको इतिहास त्यति लामो छैन । परनिर्भरताको स्थितीबाट आत्मनिर्भरताको बाटोमा हिँड्न यसले कैयौँ आरोह अवरोह पक्कै छिचोलेको छ । यो क्षेत्रको बिकास र बिस्तार भइरहँदा त्यहिँ भित्र रहेको अर्को पाटो महिलाको हो । निर्देशकका रुपमा, अभिनेत्रीका रुपमा, प्राविधिक पाटोका रुपमा कतै न कतै बलियो खाँबो बनेर उभिएका महिलाहरु यो क्षेत्रमा छन् । भलै त्यो संख्या पुरुषको दाँजोमा कम्ती छ ।

ग्लामर क्षेत्रमा महिलालाई सजिलो थिएन र आज पनि सहज भइसकेको स्थिती छैन । पुरुषवादी सोचाईबाट ग्रसित समाज र त्यसकै एक पाटो चलचित्र क्षेत्रमा दिनरात नभनी काममा खटिने महिला चलचित्रर्मीले आफुलाई यहाँ टिकाईराख्न कम्ता पापड बेल्नुपरेको छैन । यहाँ कोहि नामी हुन्छन्, कोही बदनाम र कोही गुमनाम । चलचित्र क्षेत्र मानिसको अत्याधिक चासोको विषय भएको कारण यो क्षेत्रका समाचारहरु बाहिर आईरहन्छन् । प्राय भ्रामक समाचारहरु फैलिरहेका हुन्छन् । यस्तै सम्बन्धमा यहि क्षेत्रलाई आफ्नो पेशा बनाइरहेका तीन बोल्ड महिलाहरु सम्झना, दिपा र सुरक्षाले आफ्ना गहकिला बिचारहरु यसरी व्यक्त गरेका छन्–

सम्झना उप्रेति रौनियार
चलचित्र ‘मेघा’ निर्देशन गरेर नेपाली चलचित्र क्षेत्रमा निर्देशकका रुपमा स्थापित भएकी व्यक्ति हुन्, सम्झना । उनको यो चलचित्र व्यवसायिक रुपमा सफल नभएपनि निकै राम्रो तारिफ बटुल्न सफल भएको थियो । दोस्रो चलचित्र ‘फागु’लाई पनि धेरैले मनपराएका थिए ।

महिला निर्देशकहरु असफल छन् नी भन्ने प्रश्नमा सम्झना भन्छिन्, “चलचित्र निर्देशक समाजमा ३००को हाराहारीमा सदस्यहरु छन् । त्यसमा हामी १२ जना महिलाहरु छौँ । वर्षभरी रिलिज हुने चलचित्रमध्य अधिकांश असफल नै भईरहेका हुन्छन् । त्यो अनुपातमा हामी महिला निर्देशक सफल नै छौँ । संख्या थोरै भएकाले मार्क भएको मात्र हो” संसारभर मिटुका अभियान चलिरहँदा यो क्षेत्रका केही महिलाहरुले पनि आवाज उठाएका थिए । यसका सम्बन्धका उनको राय भने फरक छ । सम्झनाका अनुसार सबैभन्दा सुरक्षित क्षेत्र नै चलचित्र क्षेत्र हो तर हिंसाबारे आफु सजक रहनु भने जरुरी भएको उनको सुझाव छ ।

आफुले आफ्नो चलचित्रमा महिला पात्रहरुलाई बलियो बनाउँदै आउकी सम्झना भन्छिन्, “१० जना पुरुष पात्रलाई १ जना महिलाले कुटेको देखाउँदैमा नारीप्रधान भइँदैन । म मेरो चलचित्रमा कहिल्यै फाइट सिन राख्दिन । मैले मेरा चलचित्रमा नारी बिद्रोह कलात्मक पारामा देखाउने प्रयास गरेको छु ।”

दीपा बस्नेत
चलचित्र ‘अन्तराल’बाट नेपाली चलचित्र क्षेत्रमा निर्देशकको रुपमा उदाएकी निर्देशक हुन्, दीपा । समिक्षकबाट राम्रो प्रतिबिmया आएपनि चलचित्र व्यवसायीक रुपमा सफल हुन सकेन । दोस्रो चलचित्र ‘श्री ५ अम्बरे’ले पनि राम्रो प्रतिक्रिया पाएको थियो । व्यवासायिकताको पाटो हटाएर हेर्ने हो भने उनका चलचित्रहरु समिक्षाको दृष्टिले अब्बल छन् । ‘अन्तराल’ बाट उनले २०७०मा राष्ट्रिय सर्वोत्कृष्ट निर्देशकको अवार्ड पनि जित्न सफल भएकी थिईन् ।

नेपाली चलचित्र क्षेत्रमा महिलाहरुलाई कत्तिको अफ्ठेरो छ त भन्ने सन्दर्भमा दिपा भन्छिन्, यो क्षेत्रमा मात्र होईन, हरेक क्षेत्रमा महिलाहरुलाई उत्तिकै असहज छ । चलचित्र क्षेत्रमा बहस हुनुपर्छ भन्दै गर्दा दर्शकहरुलाई उनी उल्टै प्रश्न गर्छिन्, “तपाइँहरुले नेपाली चलचित्र कत्तिको खोजीखोजी हुनुहुन्छ ? फरक धारमा निर्माण भएका चलचित्रहरुलाई कहिल्यै बिचार गर्नुभएको छ ?”

आफुलाई महिला निर्देशकको रुपमा इङ्गित गर्दा थोरै चित्त दुखाई छ उनलाई । दीपा भन्छिन्, “सिर्जना र रचनामा किन महिला भनेर फुर्को जोड्नुप¥यो ? आखिर म त निर्देशक हुँ नी । पुरुष निर्देशक भनेर त कसैले भन्दैनन् त”

मिटु अभियानका बारेमा बोल्दै उनी भन्छिन्, “हरेक क्षेत्रमा हिंसा हुन्छ । हिंसाका बारेमा समाचार आइरहँदा त्यसको प्रतिकार कसरी गरिन्छ, गरियो वा गर्नुपर्छ भन्ने कुराहरु किन बाहिर आउँदैनन् ? यो बहसको विषय बन्न जरुरी छ । चलचित्रका आफ्ना केही अनुभव बताउँदै दीपाले भनिन्, यौन हिंसा मात्र हिंसा होईन । यहाँ बौद्धिक हिसां पनि हिंसा हो ।”

सुरक्षा पन्त
सरुक्षाले चलचित्र ‘अझै पनि’ बाट अभिनेत्रीका रुपमा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । थोरै चलचित्रमा अभिनय गरेर पनि उनी दर्शकको मनमष्तिष्कमा बस्न सफल भएकी छिन् ।

चलचित्र क्षेत्रमा हिंसाका प्रयासहरु कत्तिको हुन्छन् भन्ने प्रश्नमा उनको जवाफ थियो, “हामीलाई बलियो बनाउन तपाइँहरुले आफ्नो प्रश्नको तरिका नै बदल्नुपर्छ । हिंसाको प्रकृति व्यक्तिको आचरण अनुसार हुन्छ ।” उनका अनुसार यो प्रश्नले नै उनलाई हिसां भएको अनुभव हुन्छ । आफुलाई अहिलेसम्म त्यस्तो प्रयास कसैले नगरेको भन्दै उनले हिसांमा परेको खण्डमा त्यसको प्रतिकार गर्न सक्नुपर्ने बताईन् ।

सुरक्षा भन्छिन्, “बाहिरी आवरण र प्रकृतिले दिएको अङ्गलाई जज गरेर मानिसहरुले महिलाको सुन्दरताको परिभाषा व्याख्या गरिरहनुभएको छ । ”

प्रतिक्रिया दिनुहोस्