बालसाहित्य प्रर्वद्धनमा नेपाल प्रज्ञा प्रतिष्ठानको कदम



नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकबार्ता) बिभागद्वारा बाल साहित्यका लागि अपेक्षित भाषा, विषय, बिम्ब छनौट विषयक विचार गोष्ठी बालप्रज्ञा (अर्धवार्षिक पत्रिका) र प्रज्ञा नेपाली बालकथा कृतिको परिचर्चा कार्यक्रम प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको सभापतित्वमा प्रतिष्ठानकै सभाहलमा सम्पन्न भएको छ ।

प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति एवम् वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले बालसाहित्य लेखनमा भाषा मानकीकरणको आवश्यकताको महसुस गरी आयोजना गरिएको गोष्ठी सार्थक भएको विचार व्यक्त गर्नुभयो । सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले ‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयक गोष्ठी उपलब्धिमूलक भएको बताउँदै अबका दिनमा यसक्षेत्रमा प्रज्ञा–प्रतिष्ठानले अझै प्रभावकारी काम गर्ने बताउनुभयो ।

कार्यक्रमका संयोजक एवम् बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले आफ्नो विभागले बालसाहित्यका क्षेत्रमा नयाँ र ऐतिहासिक महत्वका योजना बनाएर कार्यान्वयन प्रारम्भ गरेको सुनाउँदै दार्जलिङदेखि बर्मासम्मका नेपाली लोककथाहरूको सङ्कलन गरी प्रकाशन गरिने योजना रहेको पनि बताउनुभयो ।

कार्यक्रममा प्रा. डा. ऋषिराम शर्माले ‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।अत्यन्तै गहन र मिहिन तरिकाले तयार पारिएको सो कार्यपत्र एउटा कार्यपत्र मात्र नभएर कार्यपुस्तिका जस्तै छ।कार्यक्रममा डा. रामप्रसाद ज्ञवालीले ‘बालप्रज्ञा’ को समीक्षा गर्दै बालप्रज्ञाले सिङ्गो बालसाहित्यको इतिहासलाई समेटेको, विषयगत, भाषागत र विधागत विविधतालाई समेटेको, बालबालिकालाई सृजनशील र कल्पनाशील बनाउन भूमिका खेल्न सक्ने भएको, नेपालको मौलिक संस्कृतिको जानकारी दिन सक्ने जस्ता विशेषताले ओतप्रोत भएको र अबका बालसाहित्य धनिको सौन्दर्य भन्दा पनि श्रमिक बर्गको सौन्दर्यसँग जोड दिने खालको हुनुपर्छ भन्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बालकथाका सम्पादक रामदेव पाण्डेले पुस्तकमाथि परिचर्चा गर्नुभएको थियो । बालकथामा १ सय १ बालकथाकारका कथा समाविष्ट गरिएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले विविध भाषा, साहित्य, संस्कृति, जात, जाति आदिका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको भएता पनि हालसम्म बालबालिकालाई लक्षित गरेर कुनै पनि पुस्तक या पत्रिका प्रकाशन गरेको थिएन । बालबालिका सृजनाका आधारभूमि भएको हुँदा उनीहरुलाई मनोरञ्जन दिनुका साथसाथै सकरात्मक सोचको विकास र नैतिक र चरित्रवान शिक्षाको संप्रेषण गर्नुपर्छ भन्ने मर्मलाई आत्साथ गर्दै उल्लेखित पुस्तकहरु प्रकाशन गरिएको छ।


बालसाहित्य मुलतः “बालकका निम्ति कुनै पनि उमेर समूहका लेखकले तथा बालबालिका स्वयंद्वारा लिखिएको र बालकद्वारा नै आश्वादन गरिने साहित्य” भन्ने वुझिन्छ । बाल साहित्य बालबालिकालाई ज्ञान मात्र सिकाउने हैन विज्ञान प्रविधि सिकाउने,अतितको बारेमा जानकारी गराउने अग्रजहरुको जीवनयापन शैलीको बारेमा जानकारी गराउने,राष्ट्रप्रतिको गरिमा र महत्व बुझाउने,विश्व भूगोल चिनाउने जस्ता विशेषताले भरिपूर्ण हुनुपर्दछ ।

यी कृतिहरु अत्यन्तै मेहनतका साथ प्रकाशन गरिएको र हरेक बालबालिकाका लागि अति उपयोगि भएको हुँदा प्रतिष्ठानले देशका कुनाकाप्चाका हरेक सरकारी,सामूदायिक र संस्थागत विधालयहरुमा पुर्याउन जरुरी छ र पुर्याउन सक्यो भने मात्रै प्रकाशन गर्नुको औचित्य पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्