संयमित हुन नजानेका नेपाली




बिहिबार साँझ काठमाण्डौको कुमारी हलमा चलचित्र ‘पासवर्ड’को भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । बलिउडकी सन्नी लियोनी ‘पासवर्ड’को प्रिमियरका लागी नेपाल आएकी थिईन् । बिहीबार दिउँसो नेपाल ओर्लिएकी उनी साँझ प्रिमियरमा सहभागी भएकी हुन् ।

सन्नी आउने भएपछि दर्शक र मिडियामझ एककिसिमको तरङ्ग आएको थियो । उनी दिउँसो २ बजे काठमाण्डौ उत्रिने भनेपछि सयौँ मिडिया एअरपोर्ट पुगेको थियो । ढिला गरेर आएकी सन्नीले हात हल्लाएर हायात होटलतिर लागिन् । लगत्तै ‘पासवर्ड’ प्रिमियर थियो । कुमारी हलमा तामझामका साथ चलचित्रको प्रिमियर आयोजना गरिएको थियो । सन्नीलाई हेर्न कै लागी कति व्यक्तिहरु दिउँसैदेखी कुरिरहेका पनि भेट्टिए । एकजना दर्शकले भन्दै थिए, “म पाँच बजेदेखी आएर बसेको हुँ ।”

सन्नीको स्वागतमा रेड कार्पेट बिछ्याइएको थियो । स्टेज बनाइएको थियो । ठाउँठाउँमा आकर्षक पुष्पगुच्छाहरु सजाइएको थियो । लाखेहरु नाच देखाउन तम्तयार थिए । साना नानीहरु सन्नीलाई स्वागत गर्न हातमा पुष्प लिएर बसेका थिए । सन्नीको सुरक्षाका लागी नेपाल प्रहरीको एक टोली पनि खटाइएको थियो । लाग्दैथ्यो नेपालीहरु पाहुनालाई भरपुर स्वागत गर्न पछि पर्दैनन् । तर आयोजकको अन्तिम व्यवस्थापन फितलो देखियो । सन्नीको क्रेजले उनको भव्य स्वागत सब ध्वस्त भयो ।

सन्नीलाई कुरीरहँदा रातो कार्पेटको दुईछेउ उभिरहेका दर्शकहरुलाई प्रहरीले उनले तोकेको घेराभन्दा बाहिर ननिस्किन बारबार सम्झाइरहेका थिए । सुरक्षा कडा छ,जस्तो भान भईरहेथ्यो । तर जब सन्नी आईन् तब सन्सन्नी मच्चियो । क्यामेरा, मोबाइलधारीहरुको हुल सन्नीतिर यसरी तेर्सियो कि प्रहरीहरु नै तितरबितर भए । पन्चकन्याहरु हुलमै थिचिए, गमलाहरु फुटे । र सन्नी आत्तिईन् ।

सन्नीलाई पिछा गर्दागर्दै हुल स्टेजमै पुग्यो । प्रहरीले केही व्यक्तिहरुलाई स्टेजबाट जबरजस्ती हटाउनुप¥यो । अव्यवस्थित माहोलका बिच स्टेज पुग्दा सन्नीले भनिन्, “मलाई तपाइँहरुसंग एकदमै डर लागिरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्