क्यामेरा र छायांकार नहुँदा ‘लप्पन छप्पन २’को छायांकन रोकियो



बिना तयारी हावाको भरमा हिँड्दा दुःख पाइँछ भन्ने त सुनिएकै र भोगिएकै छ । हाम्रा कतिपय कामहरु यस्तै हुन्छन् । केही दिन अघि मात्रै ‘लप्पन छप्पन २’ को खुब चर्चा भएको थियो युरोपमा छायांकन गर्ने भएकाले नेपालबाट कलाकारहरुको टोली युरोप पनि पुग्यो । तर यतिबेला बिना छायांकन कलाकारहरु नेपाल फर्किएका छन् । बुझिएअनुसार युरोप छायांकन अनुमति पनि नभएको र क्यामेराको साथमा छायांकारको उपस्थिती नभएकाले चलचित्रको शुटिङ रद्ध भएको हो ।

स्थानिय टिमले उतै क्यामेरा मिलाउने भनिएको कारण नेपालबाट क्यामेरा नलगिएको र आवश्यक पर्ने क्यामेरा नमिलेपछि सानो क्यामेरा ले नै केहि ‘मोन्टाज’ दृश्य मात्र खिचिएको द्धन्द्ध निर्देशक हिमाल केसीले जानकारी दिएका छन् ।

‘लप्पन छप्पन २’मा दयाहाङ राई, सौगात मल्ल, नम्रता श्रेष्ठ, अर्पण थापा, अनुपबिक्रम शाही, क्यारोलिन कोलिन्डा, देवु श्रेष्ठ, सुरविना कार्की, सिर्जना सन्नी ढकाल, फाजिल अहमद लगायतको अभिनय रहनेछ । एक्सन जनरामा निर्माण हुने चलचित्रको रिलिज मिति फागुन ९लाई तोकिएको छ ।

‘लप्पन छप्पन २’लाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । यसको अघिल्लो सिरिजलाई पनि उनैले निर्देशन गरेका थिए । चलचित्र व्यवसायीक रुपमा असफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्