मौलिक तीज गीत लिएर आईन्, संगी (भिडियो)



केहि वर्षदेखि व्यवसायिकता र सस्तो लोकप्रियताका लागि तीजका गीतहरुमा मौलिकता हराउँदै गएको गुनासो श्रोताहरु माझ आईरहेको अवस्थामा नवगायिका संगी अधिकारी पोखरेलले भने भिन्न शैलीको तीज गीत लिएर नेपाली साङ्गीतिक बजारमा आएकी छिन् ।

प्रकाश सुवेदीको शब्द, राजकुमार बगरको लय र राजु कार्कीको संगीत संयोजन रहेको ‘मैले त खोजेको यस्तै घर हो’ बोलको गीतमा संगीको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा शुसिला थापा, रीचा पोख्रेल, सुमन सागर जङ्ग केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रायः जसो तीज गीतमा सासु, देउरानी, जेठानी र घरपरिवार प्रति असन्तुष्टि व्यक्त गरेको पाइन्छ भने यो गीतमा गाली गलौज, आरोप प्रत्यारोप, असन्तुष्टि, नैराश्यता आदि नकरात्मकताबाट अलग्गीएर महिला दिदीवहिनीहरुले एउटा सुन्दर पारिवारिक वातावरणको अपेक्षा सहितको कामना गर्न पनि सक्छन् भन्ने भाव गीतकार प्रकाश सुवेदीले दर्शाउन खोजेका छन् ।

दुःख, पीडा र वेदना मात्रै तीज गीतका विषयवस्तु हैनन् सुख र संमृद्धिका विषयलाई पनि तीज गीतभित्र अटाउन सकिन्छ भन्ने मान्यता गीतकार प्रकाश सुवेदीको रहेको छ ।

कुनै पनि सृजनाले सन्देश दिन जरुरी छ र सन्देश सहितको सृजना सर्वस्वीकार्य हुन्छ भन्ने मान्यता राख्दै आएका गीतकार प्रकाश सुवेदी सृजना भित्र कथा बुन्न पनि सिपालु छन् ।समग्र गीतको भाव सकरात्मक रहेको यो गीतमा भिडियोका क्लिपहरु पनि सकरात्मक शिक्षा दिने तरिकाले प्रस्तुत गरिएको छ ।

त्रिवेणी डिजिटल स्टूडियोमा रेकर्ड भएको यस गीतलाई सुमन सागर जङ्ग केसीले निर्देशन गरेका हुन् । पवन गौतमको छायांकन रहेको गीतको भिडियोमा सुरेश राउतको सम्पादन समावेश छ ।

प्रतिक्रिया दिनुहोस्