राष्ट्रिय नाट्य महोत्सव असार ८ गतेसम्म



नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारदेखि राष्ट्रिय नाट्य महोत्सव सुरु भएको छ । असार २ मा शुरु भएको यो महोत्सव ८ गतेसम्म चल्नेछ ।

शिव ताण्डव सहित सुरु भएको महोत्सवलाई राजधानीको सर्वनाम नाटकघरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती नारायण भक्त श्रेष्ठ ‘रायन’ र कवि तथा संस्कृतविद तुलसी दिवशले संयुक्त रुपमा उद्घाटन गरेका थिए । ‘पम्पा फूल’ नामक नाटक मञ्चनबाट राष्ट्रिय नाट्य महोत्सव सुरु गरिएको छ । कर्णाली थिएटरको प्रस्तुति रहेको नाटक ‘पम्पा फूल’ लोक लयमा आधरित छ । यो नाटकलाई हिरा बिजुली नेपालीले नाट्य रुपान्तरण तथा निर्देशन गरेका हुन् । लोभ र लालचको कथा बोल्ने यो नाटक एउटा दाजुले आफ्नो बहिनीले पाएको दाईजोको सम्पतीमा आँखा लगाउदा घट्ने नियतीको परिणाम हो ।

‘लोभले लाभ लाभले विलाप’ भन्ने उखानलाई सार्थक बनाउने यो नाटकको मुल भाव हो । नाटकमा बैदेवी बुढा, विष्णुमाया परियार, देवेन्द्र कार्की, राज मल्ल, रामु वि.क., निशा खड्का, जन्मलक्ष्मी हमाल, सुशीला रावल, खामु वि.क, हिरा बिजुली नेपाली, दिपेन्द्र नेपाली लगायतको अभिनय रहेको छ ।

असार ८ गतेसम्म चल्ने नाटक महोत्सवमा क्रमश ‘ईश्वरलाई चिठि’, ‘जीवैमामा गीतिनाटक’, ‘घरभित्रको अर्को घर’, ‘अमरसिंहको खोजिमा’, ‘विकास भर्सेस निकास’ र ‘कजरी’ मञ्चन हुनेछन् । पछिल्लो समय सक्रिय रुपमा काम गर्दै आएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले यस अघि लोक नाटक महोत्सव गरेको थियो । जसमा ‘घेरो’ र ‘हिट्वा’ गरी दुई वटा लोक नाटक मञ्चन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्