टंकको निर्देशनमा मिथिला बन्दैछिन्, ‘योगमाया’



नेपाली कलाकारिताको क्षेत्रमा मिथिला शर्मा परिचित नाम हो । असाध्यै राम्रो अभिनय गर्न सक्ने र कुशल नृत्याङ्गनाका रुपमा चिनिने मिथिला यतिबेला नाटक ‘योगमाया’को तयारी गर्दैछन् । ३० भन्दा बढि नाटकमा अभिनय गरिसकेकी मिथिला यतिबेला २० वर्षपछि रङ्गमञ्चमा फिर्दैछिन् । “बिचमा नाटकका लागी प्रस्ताव नआएका होईनन्, तर कुनैले छोएनन् ।” मिथिला भन्छिन्, “यो असाध्यै गहन क्यारेक्टर हो । यसमा आफूलाई खरो उत्रिन म असाध्यै मेहेनत गरिरहेकी छु ।”

गत वर्ष मदनपुरस्कार प्राप्त गर्न सफ कृति ‘योगमाया’मा आधारीत रहेर यो नाटक गर्न लागिएको हो । ‘योगमाया’लाई निलम कार्की निहारीकाले लेखेकी हुन् । टंक चौलागाँईको नाट्य परिमार्जन र निर्देशनमा बन्ने नाटक जेठ २४ गतेबाट मञ्चन हुनेछ । निर्देशक टंक पनि यस नाटकलाई लिएर निकै उत्साहित छन् ।

योगमाया विद्रोही नारीका रुपमा चर्चित छिन् । राणा शासनका समयमा आफ्ना विद्रोही मागसहित आन्दोलनमा उत्रिएर श्री ३ चन्द्रशमसेरबाट धर्मराज्य स्थापना गर्ने वचन पाएकी योगमायाले माग पूरा नभएपछि १९९८ असार २२ गते आफ्ना अनन्य भक्तहरूसहित अरुण नदीमा जलसमाधि लिएकी थिइन्।

नाटकमा प्रकेश सिन्धुलीयको सहनिर्देशन रहेको छ भने सुरज तमुले कोरियोग्राफी गरेका छन् । नाटकमा राधा श्रेष्ठ, प्रभाकर न्यौपाने, प्रल्हाद खरेल, श्याम खड्का, प्रकेश सिन्धुलीय, राज न्यौपाने, सुरज तमु, दीपिका ढकाल, सुमन कुइँकेल, सरस्वती अधिकारी, सगुन पोखरेल, आकांक्षा जिसी, पुष्पराज अवस्थी, सुवास तिमल्सिना, सुमित तामाङ, सुरेन्द्र क्षेत्री, विशाल देवकोटा, कृष्णगोपाल कक्षपति, प्रसन्न हुमागाईं, संयोग दाहालका साथमा स्कुल थिएटर नेपालका लालाबालाकक्षाका बालकलाकार काव्य बराल, आकार थापा, क्विन्चम जोशी, अद्वैत थापा र शुभेच्छा तिमल्सिना पनि नाटकमा रहनेछन्।

स्कुल थिएटर नेपाल र साङ्ग्रिला फउन्डेसनको प्रस्तुतीमा नाटक ‘योगमाया’ प्रस्तुत गर्न लागिएको हो । काठमाण्डौको शिल्पी थिएटर, बत्तिसपुतलीमा असार १६ सम्म मञ्चन हुने यो नाटक हरेक दिन बेलुकी ५ः२५मा हेर्न पाईनेछ । अतिरिक्त शो शनिबार दिउँसो १ः०० बजे पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्